Welcome to Butwalkalikacampus
१२ वर्षमै पायो बुटवल कालिका क्याम्पसले क्युएए मान्यता
१२ वर्षमै पायो बुटवल कालिका क्याम्पसले क्युएए मान्यता

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचित बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालबाट क्युएए प्राप्त गरेको छ।
स्थापनाको सबैभन्दा छोटो अवधिमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०७० सालमा स्थापना भएको क्याम्पसले १२ वर्षभित्रै QAA प्रमाणपत्र हात पारेको हो।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रम विश्वविद्यालय अनुदान आयोगको कार्यालय, भक्तपुरमा सम्पन्न भयो। कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका वक्ताहरूले बुटवल कालिका क्याम्पसले “त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा पनि यति छोटो अवधिमा QAA हासिल गरेर आफ्नै पहिचान स्थापित गर्न सफल भएकोमा धन्यवाद” व्यक्त गरे।

आफैँ क्याम्पसमा पुगेर अध्ययन गरेको अनुभव सुनाउँदै आयोग अध्यक्ष देवराज अधिकारीले भन्नुभयो, “भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा कालिका क्याम्पस निकै उत्कृष्ट देखियो। निरन्तर प्रगतिका लागि क्याम्पसलाई शुभकामना व्यक्त गर्दछु।” अधिकारीका अनुसार क्याम्पसको QAA प्रक्रियाको मूल्यांकन प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा विज्ञ टोलीले सुरुदेखि अन्तिमसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो।

क्याम्पसले २०७९ असार २९ गते LOI (Letter of Intent) स्वीकृत गराएपछि SSR (Self Study Report) पेश, PRT टोलीको मूल्यांकन भ्रमण, Snap Visit, र EQAAC सिफारिस लगायतका सबै चरणहरू पूरा गरेको थियो। अन्ततः २०८२ असार ३२ गते औपचारिक रूपमा UGC बाट QAA प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले उपलब्धिपछि खुशी व्यक्त गर्दै यो सफलता सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, सञ्चालक समिति, क्याम्पस सभा, स्टुडेन्ट क्वालिटी सर्कल तथा भूपू विद्यार्थीहरूको साझा प्रयासले सम्भव भएको बताउनुभयो। क्याम्पस प्रमुख घनश्याम पाठकले भन्मुभयो, “गुणस्तर सुनिश्चितता कुनै अन्तिम बिन्दु होइन, क्याम्पसले गुणस्तर अभिवृद्धिको यात्रालाई निरन्तर जारी राखेको छ र आगामी दिनमा थप प्रगति गर्ने अठोटका साथ अघि बढिरहेको छ।”

हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा BBS, B.Ed., BCA,BASW, र स्नातकोत्तर तहमा MA in Rural Development तथा MA in English कार्यक्रमहरू सञ्चालनमा छन् भने नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ।

क्याम्पसको यो कदमले सामुदायिक क्याम्पसहरूको शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धि र प्रतिस्पर्धात्मक क्षमतामा नयाँ उदाहरण प्रस्तुत गरेको छ।

समाचार : हजुरको पोस्ट 

WhatsApp