बुटवल । बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजिसी) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगको कार्यालय, भक्तपुरमा आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले प्रमाण पत्र प्रदान गरे ।
आयोग अध्यक्ष अधिकारीले आफैँ क्याम्पसमै पुगेर अवलोकन गरेको अनुभव सुनाउँदै कालिका क्याम्पस भौतिक, शैक्षिक र गुणस्तरका दृष्टिले निकै उत्कृष्ट रहेको धारणा राखे । उनका अनुसार प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा खटिएको विज्ञ टोलीले मूल्यांकनको सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०७० मा स्थापना भएको कालिका क्याम्पसले १२ वर्षभित्रै क्युएए प्रमाणपत्र प्राप्त गरेको हो । 'स्थापना भएको छोटो अवधिमै क्युएए प्राप्त गर्ने क्याम्पस' बन्ने सफलतासमेत कालिकाले हासिल गरेको जनाइएको छ ।
क्याम्पसले २०७९ असार २९ गते अभिप्रेरणा पत्र (एलओआई) स्वीकृत गराएर क्युएए प्रक्रियामा प्रवेश गरेको थियो । त्यसपछि आत्म मूल्यांकन प्रतिवेदन (एसएसआर) पेश, प्रष्टरण भ्रमण टोली (पिआरटी) को मूल्यांकन, आकस्मिक निरीक्षण भ्रमण (स्न्याप भिजिट), र अन्ततः गुणस्तर प्रत्यायन तथा प्रत्याभूति समितिको सिफारिसपछि क्याम्पसले २०८२ असार ३२ गते क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।
प्रमाणपत्र प्राप्तिपछि सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले यो सफलता सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, सञ्चालक समिति, क्याम्पस सभा, स्टुडेन्ट क्वालिटी सर्कल तथा भूतपूर्व विद्यार्थीहरूको संयुक्त प्रयासबाट सम्भव भएको प्रतिक्रिया दिए ।
क्याम्पस प्रमुख घनश्याम पाठकले क्युएए कुनै अन्तिम गन्तव्य नभई निरन्तर यात्राको थालनी भएको उल्लेख गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय शिक्षाको यात्रालाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
हाल क्याम्पसमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । स्नातक तहमा व्यवस्थापन (बीबीएस), कम्प्युटर एप्लिकेशन (बीसीए), शिक्षा (बीएड), सामाजिक कार्य (बिएसडब्लु) र स्नातकोत्तर तहमा ग्रामीण विकास र अंग्रेजी विषयमा स्नातकोत्तर (एमए) कार्यक्रम सञ्चालनमा छन् ।
कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष नित्यानन्द ज्ञवाली, क्याम्पसका पूर्व अध्यक्ष अर्जुनमान सैजु, सदस्य दिनेश थापा र ओमि पुन, स्व–मूल्यांकन टोलीका सदस्य लालमणि खनाल, विद्यार्थी तथा विभिन्न पक्षका प्रतिनिधिको उपस्थिति थियो ।
समाचार : सेटोमासी